लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हटाउने निर्णय भएको छैन : मुख्यमन्त्री कार्यालय
बुटवल-रुपन्देही
२०७८ साउन ३१
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) हटाउने निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा. राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गरेको सार्वजनिक भएको थियो । यसको एक सातापछि डा. खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानकारी दिएको हो ।
‘मेसु हटाउने निर्णय भएको छैन, मुख्य सचिव ज्यूबाट योबारेको निर्णय माइन्युट भएकै छैन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता डा. खगेन्द्र सुवेदीले अनलाइनखबरसँग भने, ‘मिडियामा कसरी समाचार आयो हामी पनि आश्चर्यमा परेका छौं ।’
मेसु नियुक्तिका लागि डा. इन्द्र ढकालको निवेदन आएको तर नियुक्तिको निर्णय नभएको वहाँले स्पष्ट पार्नुभयो । ‘चिठी आएको हो, तर चिठी आएर मात्र हुँदैन, मेसु परिवर्तनको आफ्नै प्रकृया हुन्छ,’ प्रवक्ता सुवेदीले भन्नुभयो । ‘मुख्य सचिवबाट माइन्युट नभएको निर्णयले कानूनी वैधता पाउँदैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मेसु परिवर्तनको पत्र नआएको स्वीकार्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा पनि मेसु हटाइएको निर्णय अद्यावधिक भएको छैन ।
तपाईको प्रतिक्रिया